सहकारी संस्थाहरुलाई ब्यवस्थित बनाउँदै चाँगुनारायण नगरपालिका, नियम पालनामा कडाई, उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन

भक्तपुर : चाँगुनारायण नगरपालिकाले नगरभित्र रहेका सहकारी संस्थाहरुलाई व्यवस्थित र पारदर्शी बनाउँदै लगेको छ । नगरपालिकाले सहकारीलाई कानुनको पालनामा कडाई गर्दै उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन समेत गर्दै आएको छ । साथै सहकारीहरुलाई सहजीकरण गर्ने कार्यमा सहयोग गरिरहेको छ ।

नगरपालिका सहकारी शाखा प्रमुख शर्मीला पोखरेलका अनुसार नगरभित्रका सहकारीको अवस्था सन्तोषजनक छ भने अहिलेसम्म कुनै पनि सहकारीसम्बन्धी उजुरी नपरेको र समस्याग्रस्त सहकारी भएको पाइएको छैन । नगरपालिकाभित्र ७१ वटा सहकारीहरु सूचीकृत रहेका छन् । नगरपालिकामा सानादेखि १ अर्बभन्दा बढी कारोबार गर्ने नमूना सहकारी रहेका छन् ।

नगरपालिकाले नगरभित्र रहेका सहकारीहरुको समस्या पत्ता लगाई समाधानका लागि निरन्तर अनुगमन र सीप विकास तथा उत्पादनशिल क्षेत्रमा लगानी गर्नका लागि सहकारीका प्रतिनिधिहरुसंग अन्तरक्रिया कार्यक्रम समेत गर्दै आएको छ । त्यस्तै, क्रैमासिक रुपमा अन्तरक्रिर्या तथा लेखा ब्यवस्थापन सम्बन्धी तालिम प्रदान गर्दै आएको छ ।

नगरपालिकामा शूरुदेखि नै दर्ता प्रक्रिया बन्द रहेको छ भने दर्ता भएका सहकारीलाई अनीवार्य ब्यवसायी सूचीकृत गर्नुपर्ने नियम बनाएको छ । नगरपालिकाका मेयर जीवन खत्रीले सहकारी संस्थाहरुसंग हातेमालो गरेर अघि बढ्न र सीप विकास तथा उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्दै आउनु भएको छ ।

नगरपालिकाले सहकारी संस्थाहरुको अनुगमन, निरीक्षण र नियमन कार्यलाई प्रभावकारी बनाउने, उद्यम गर्न चाहने सहकारी संस्थाहरुलाई प्रोत्साहन र प्रबद्र्धन गर्ने, सहकारी संस्थाहरुलाई एकीकृत सहकारी ब्यवस्थापन प्रणाली मा आबद्ध गराउने र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने नीति लिएको छ ।