भक्तपुर: चाँगुनारायण नगरपालिकाले थालेकोे निःशुल्क खेल कार्यक्रममा आर्कषण बढ्दै गएको छ । पछिल्लो समय नगरपालिकाको खेलकूद विकास समितिमार्फत ९ वटै वडामा जारी खेल कार्यक्रममा आर्कषण बढ्दै गएको हो ।
नगर प्रमुख जीवन खत्रीको नेतृत्वमा नयाँ जनप्रतिनिधि आएपछि नगरपालिकाले खेलकूद कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको छ । कोभिड १९ पछि खेलकूद गतिवधि सुस्त रहेको नगरमा पछिल्लो समय निकै बढ्न थालेको हो ।
नगरपालिकाले गत वर्षदेखि बालबालीकाको विदाको समयलाई उपयोग गर्दै खेलकूद क्षेत्रमा अगाडि बढाउने उद्देश्यले खेलकूद सामाग्री र प्रशिक्षकको ब्यवस्था गरि हरेक शनिबार निःशुल्क रुपमा खेल सञ्चालन गर्दै आएको छ ।
नगर खेलकूद विकास समितिका अध्यक्ष रघु केसीले हरेक शनिबार बिहानको समयमा संचालन गर्दै आएको खेल कार्यक्रममा विद्यार्थीको संख्या ह्वात्तै बढेको छ । अध्यक्ष केसीका अनुसार खेलकूद कार्यक्रम सञ्चालन हुने प्रत्येक चौरमा कम्तिमा सय बालबालीका सहभागि हुने गरेका छन् ।
नगरपालिकाले १ नंं वडाका लागि नेक कलेजको खेल मैदान, २ र ३ को लागि केएमसी खेल मैदान, ४ र ५ को लागि गल्टाखेल चौर, ६ र ७ को लागि तेलकोट र ८ र ९ वडाको लागि मिस्याटार मैदानमा निःशुल्क खेल कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
अध्यक्ष केसीका अनुसार सबै वडामा गरि थोरै हुँदा पनि एक हजारको हाराहारीमा बालबालीकाहरु सहभागि हुने गरेका छन् । आगामी दिनमा पनि खेल कार्यक्रमलाई अझै बढी प्रभावकारी बनाउँदै लग्ने नगरपालिकाको योजना छ ।