
भक्तपुर: चाँगुनारायण नगरपालिकाले एक वर्षमा भएका महत्वपूर्ण उपलब्धीहरु सार्वजनीक गरेको छ । नगरपालिकाले सडक, ढल, खानेपानी, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन तथा राजस्व सङ्कलन लगायतका विषयमा भएका उपलब्धीहरु सार्वजनीक गरेको हो ।
नगर प्रमुख जीवन खत्री नेतृत्वमा रहेको गरपालिकाले यस अवधिमा विभिन्न विषयका ५ वटा ऐन (संशोधनसमेत) तथा १० वटा कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याएको छ। नगरको दिगो विकासका लागि ५ वर्षे प्रथम आवधिक योजना निर्माण भइसकेको र मध्यकालीन खर्च संरचना तयार भइरहेको मेयर खत्रीले बताउनुभयो ।
मेयर खत्रीका अनुसार यस अवधिमा नगरक्षेत्रमा ५ दशमलव ८ कि.मि. सडक कालोपत्रे गरिएको, ६ दशमलव ४५ कि.मि. सडक बिस्तार र स्तरोन्नति गरिएको छ भने ५ वटा कल्भर्ट निर्माण सम्पन्न भएको छ । चाँगुनारायण मन्दिरमा पुग्न अपाङ्गमैत्री पदमार्ग निर्माण सुरु भएको छ।
त्यस्तै नगरपालिकाको प्रशासकीय भवन र वडा नंं १ को कार्यालय भवन निर्माण सम्पन्न भएको छ भने वडा नं. ५ को कार्यालय भवन निर्माणको अन्तिम चरणमा रहेको छ । त्यसै गरी खानेपानीको सहजताका लागि ३ स्थानमा डिपबोरिङ्ग गरिएको तथा ३ लाख लि क्षमताको ओभरहेड ट्याङ्की निर्माण भएको छ।
नगरकोट भ्रमण वर्ष २०८२/०८३ को घोषणा गरी आवश्यक तयारी भइरहेको, बृहत्तर नगरकोट क्षेत्रको पर्यटन प्रबर्द्धन र दिगो पर्यटन विकासका लागि मण्डनदेउपुर नगरपालिका, शंखरापुर नगरपालिका र बनेपा नगरपालिकाको लागत साझेदारीमा बृहत्तर नगरकोट क्षेत्रको गुरुयोजना निर्माणको थालनी भएको छ ।