
खरीपाटी: जाइकाको काठमाण्डौ उपत्यका उत्थानशीलताको विपद् जोखिम शासन सुदृढीकरण परियोजनाका प्रतिनिधिहरुले चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधिहरुसँग भेट गरि छलफल गर्नु भएको छ ।

नगर प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी तथा विपद् व्यवस्थापन इकाई प्रमुख दिनेश थापासंग भेट गरि चाँगुनारायण नगरपालिकाले विपद् व्यवस्थापन क्षेत्रमा गरेको प्रगति, मनसुनजन्य विपद्बाट भएको क्षति तथा नगरपालिकाले गरेको प्रतिकार्य तथा नगरपालिकाको स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्य ढाँचा निर्माणका बारेमा छलफल गर्नुभयो ।

जाइका नेपालका प्रतिनिधिहरुलाई नगरपालिकामा स्वागत गर्नुहुदै चाँगुनारायण नगरपालिकाका नगर प्रमुख खत्रीले विपद् उत्थानशील समुदाय निर्माण गर्ने कार्यमा नगरपालिका अग्रसर भई कार्य गरिरहेको बताउनुभयो ।

जाइकाले जापानमा आयोजना गरेको ज्ञान सह निर्माण कार्यक्रममा सहभागिताबाट जापानले विपद् व्यवस्थापनका क्षेत्रमा गरेको पूर्वतयारीका गतिविधिहरुबाट आफु प्रभावित भएको बताउँनुहुदै नगर प्रमुख खत्रीले जापान भ्रमणबाट सिकेको कुरा आफ्नो समुदायमा पनि अवलम्बन गर्दै जाने बताउनु भयो ।

नगर उपप्रमुख रमेश बुढाथोकीले जाइका नेपालका प्रतिनिधिहरुलाई नगरपालिकाको लोगो अंकीत मायाको चिनो प्रदान गर्नुभएको थियो ।

छलफल कार्यक्रममा जाइका नेपालको तर्फबाट परामर्शदाताहरु कात्सुकाटो, मासातु अकाशी, नरेश श्रेष्ठ, प्रवेश घिमिरेको उपस्थिती रहेको थियो ।

जाइका नेपालका प्रतिनिधिहरुले चाँगुनारायण नगरपालिकाले तयार गर्न लागेको स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा तयारीमा काठमाण्डौ उपत्यका उत्थानशीलताको विपद् जोखिम शासन सुदृढीकरण परियोजनाले प्राविधिक सहयोग गर्ने जानकारी दिनुभयो ।
उहाँहरुले कार्यढाँचाको तयारीको प्रक्रिया र महत्वबारेमा पनि प्रकाश पार्नुभएको थियो । छलफल कार्यक्रममा चाँगुनारायण नगरपालिकाका सुचना प्रविधि अधिकृत रोशन शिवाकोटी तथा कार्यक्रम सहायक सञ्जय अवालको पनि उपस्थिती रहेको थियो ।